१५ असोज, काठमाडौँ । मंगलबार राति फिलिपिन्समा आएको शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति पु¥याएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार ६.९ म्याग्निच्युडको यो भूकम्पको केन्द्रबिन्दु सेबु प्रान्तको बोगो शहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा र करिब १० किलोमिटरको सतही गहिराइमा रहेको थियो।
भूकम्पका कारण विभिन्न आवासीय भवन र पूर्वाधारहरू भत्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको र १४७ जना घाइते भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भग्नावशेषमुनि पुरिएका मानिसहरूको उद्धार कार्य जारी छ।
भूकम्पपछि सुरुमा सुनामीको चेतावनी जारी गरिएको थियो, तर केही समयमै खतराको सम्भावना नभएको भन्दै चेतावनी फिर्ता लिइयो। यद्यपि प्रभावित क्षेत्रका स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।
फिलिपिन्सका सुरक्षाकर्मी, सेना, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई राहत तथा उद्धारमा परिचालन गरिएको छ। बोगो शहरलगायत प्रभावित क्षेत्रमा आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय र स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ।
सेबु प्रान्तकी गभर्नर पामेला बारिकुआत्रो मंगलबार राति नै बोगो शहर पुगेर प्रत्यक्ष रूपमा क्षति मूल्यांकन गरेकी छन्। उनले तत्काल राहत केन्द्रहरू स्थापना गर्ने र पीडितलाई आवास, खानेपानी तथा स्वास्थ्य सुविधा उपलब्ध गराउने कार्य सुरु गरिएको बताएकी छिन्।
विशेषज्ञहरूले भूकम्पपछि पछिल्ला झट्काहरू आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
फिलिपिन्स संसारकै सबैभन्दा बढी भूकम्प जोखिमयुक्त क्षेत्रमध्ये एक हो। प्रशान्त महासागरको “रिङ अफ फायर” मा पर्ने भएकाले यहाँ बारम्बार उच्च म्याग्निच्युडका भूकम्पहरू आइरहने गरेका छन्।

















