Logo

१५ असोज, काठमाडौँ ।  फिलिपिन्सको सेबु प्रान्तस्थित बोगो सहर नजिकै गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार राति १० बजे बोगोको पालोम्पोन नजिकै ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्र (USGS) का अनुसार, भूकम्पको केन्द्रविन्दु कम गहिराइमा रहेको थियो, जसका कारण जमिनमा गहिरो प्रभाव परेको हो।

भूकम्पको केन्द्रविन्दु टापुको उत्तरी छेउमा रहेको बोगो सहर नजिकै परेको थियो, जहाँ करिब ९० हजार मानिसको बसोबास छ। भूकम्पको झट्काले भवनहरू भत्किएको र कैयौँ संरचना क्षतिग्रस्त भएको जनाइएको छ। मुख्य भूकम्पपछि अहिलेसम्म ६११ पटकभन्दा बढी परकम्पहरू गएको फिलिपिन्सको भूगर्भ विभागले जनाएको छ। परकम्पहरूका कारण उद्धार कार्यमा थप चुनौती उत्पन्न भएको छ।

भूकम्पपछि फिलिपिन्सको आपतकालीन उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालित छन्। खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताइएको छ।
सङ्कटकालीन शिविरहरू स्थापना गरिँदैछ भने घाइतेहरूको उपचार नजिकका अस्पतालमा भइरहेको छ।

घटनापछि फिलिपिन्स सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगका लागि तयारी सुरु गरेको छ। प्रभावित क्षेत्रमा खाद्य सामग्री, सुरक्षित पानी, औषधि र आपतकालीन सेवा पुर्‍याउने कार्य जारी छ।


सम्बन्धित समाचार