१५ असोज,वीरगञ्ज । वीरगञ्जको मानव सेवा आश्रमले सडकबाट उद्धार गरेकी एक गर्भवती महिलाले छोरी जन्माएपछि उनको परिवारसँग भावनात्मक पुनर्मिलन भएको छ। विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा तस्बिर देखेर परिवारका सदस्यहरूले महिलाको पहिचान गरेका थिए।
पर्सागढी नगरपालिका–५, जिंगनाकी ३० वर्षीया पुनिता देवी रामलाई गत असोज ११ गते मानव सेवा आश्रमको टोलीले वीरगञ्जको बहुअरीबाट उद्धार गरी आश्रममा राखेको थियो। मंगलबार साँझ बेथा लागेपछि उनलाई नारायणी अस्पताल पु¥याइएको थियो, जहाँ उनले एक छोरीलाई जन्म दिइन्।
बुधबार बिहान ८ बजे पुनिताका ससुरा शम्भु राम र सासू पाना देवी चमार बुहारी र नातिनीलाई लिन अस्पताल पुगेका थिए। उनीहरूका अनुसार, पुनिताका पति रामकारण राम भारतमा ट्र्याक्टर चालकका रूपमा कार्यरत छन्। पुनिता मानसिक स्वास्थ्य समस्याका कारण घरबाट हराएकी थिइन् र धेरै खोजी गर्दा पनि फेला परेकी थिइनन्।
अस्पताल परिसरमा भएको यस पुनर्मिलन कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगन्ज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह, नर्स हेमा थापा, समाजसेवीहरू सन्तोष पटेल, पिन्टु रौनियार, आश्रमका स्वयंसेवक र सुरक्षाकर्मीहरूको पनि उपस्थिति थियो।
मानवसेवा आश्रमले यो पुनर्मिलन सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण सञ्चारकर्मी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।















