Logo

१६ असोज, काठमाडौँ ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले आफ्नो अन्तर्राष्ट्रिय विभागको नयाँ प्रमुखमा अनुभवी कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ। सात वर्षदेखि चीनको राष्ट्रिय सुरक्षा आयोगमा उपनिर्देशकका रूपमा कार्यरत लिउले अहिले भ्रष्टाचार प्रकरणमा पदच्युत भएका लिउ जियानचाओको स्थान लिएका हुन्।

६२ वर्षीय लिउ हाइक्सिङ चीनको युरोपेली मामिला विशेषज्ञ मानिन्छन्। उनले करिब तीन दशक लामो कूटनीतिक यात्रामा विदेश मन्त्रालय, संयुक्त राष्ट्र संघस्थित चिनियाँ मिसन, पेरिसस्थित दूतावास, र विदेश मन्त्रालयको युरोपेली विभागमा जिम्मेवारी सम्हालेका थिए। सन् २०१५ मा उनी विदेश मामिला सहायक मन्त्री बनेका थिए भने २०१८ देखि राष्ट्रिय सुरक्षा आयोगको कार्यालयमा उपनिर्देशकका रूपमा कार्यरत थिए।

यसअघि अन्तर्राष्ट्रिय विभागको नेतृत्व सम्हालेका लिउ जियानचाओलाई करिब नौ महिनाअघि अल्जेरिया भ्रमणपछि भ्रष्टाचार आरोपमा हिरासतमा लिइएको थियो। उनी जुलाईको अन्त्यदेखि सार्वजनिक रूपमा देखिएका छैनन् र अहिले जेलमा रहेको बताइएको छ। ६१ वर्षीय जियानचाओ जुन २०२२ मा अन्तर्राष्ट्रिय विभागका प्रमुख बनेका थिए। कोभिड महामारीपछि चीनको छवि पुनः स्थापित गर्ने अभियानमा उनी सक्रिय थिए र नेपालसहित एशिया, युरोप र अफ्रिकामा व्यापक भ्रमण गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले प्रमुख राजनीतिक दलका नेताहरूसँग निकट सम्बन्ध बनाएका थिए, जसले उनलाई नेपाल–चीन सम्बन्धका सन्दर्भमा विशेष महत्त्वपूर्ण नेता बनाएको थियो।

बेइजिङस्थित सीपीसीको अन्तर्राष्ट्रिय विभाग चीनको परराष्ट्र रणनीतिमा महत्त्वपूर्ण अङ्ग मानिन्छ। मन्त्रीस्तरीय यो विभागले विश्वका ६०० भन्दा बढी राजनीतिक दलहरूसँग प्रत्यक्ष सम्पर्क कायम गरेको छ। यस विभागमार्फत चीनले द्विपक्षीय सम्बन्धमा राजनीतिक तहको संवादलाई सुदृढ गर्दै आएको छ।

लिउ हाइक्सिङको नियुक्तिसँगै विभागको कूटनीतिक अभियानमा नयाँ धार आउने अपेक्षा गरिएको छ। अनुभवी र युरोपेली मामिला विज्ञ लिउले चीनको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ मजबुत बनाउनेमा चिनियाँ नेतृत्वले विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार