१६ असोज, काठमाडौँ । नेपाल र मलेसियाको राष्ट्रिय महिला क्रिकेट टोलीबीचको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज आजदेखि सुरू हुँदैछ। पहिलो खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १२ बजे प्रारम्भ हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। यसमा पाँच खेलाडी परिवर्तन गरिएको छ। सिनियर खेलाडी सीता राना मगर पुनः राष्ट्रिय टिममा फर्किएकी छिन्। उनीसँगै सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामीले पनि टोलीमा स्थान बनाएका छन्। यसपटक ईश्वरी विष्ट, सबनम राई, बिन्दु रावल, रोमा थापा र मनिषा उपाध्यायले टोलीमा स्थान बनाउन सकेनन्।
सिरिजअघि नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिजमार्फत तयारी गरेका थिए। उक्त प्रतियोगिताको उपाधि साउदर्न जाग्वार्सले जितेको थियो, जसमा नेपाली खेलाडी रुविना क्षेत्री, सोनु विष्ट र पूजा महतो सामेल थिए। सीता राना मगरको नेतृत्वमा रहेको सेन्ट्रल सुपर गर्ल्स उपविजेता बनेको थियो। नेपाली उपकप्तान पूजा महतो प्लेयर अफ द सिरिज घोषित भएकी थिइन् भने नोर्थर्न क्विन्सकी कविता कुँवर उत्कृष्ट ब्याटर घोषित भएकी थिइन्।
मलेसियामा रहेका १४ खेलाडीले सो प्रतियोगितामा फरक–फरक टोलीबाट खेल्दै उपयोगी अनुभव प्राप्त गरेका थिए। यही अनुभवलाई आधार बनाएर नेपाली टोलीले मलेसियाविरुद्धको टी–२० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
नेपालको महिला राष्ट्रिय टोलीले मलेसिया भ्रमणलाई आगामी जनवरीमा घरेलु मैदानमा आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका रूपमा लिएको छ। यस सिरिजले टोलीलाई प्राविधिक तथा मानसिक रूपमा थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

















