Logo

१६ असोज, काठमाडौं। विश्वभर युवाहरू आ-आफ्नो देशको शासन प्रणाली र नीतिका विरुद्ध सडकमा उत्रिरहेका छन्। बंगलादेश, नेपाल, पेरु, मडागास्करपछि अहिले मोरक्कोमा पनि सरकारविरुद्धको प्रदर्शन चर्किँदै गएको छ। मोरक्कोमा पाँच दिनदेखि निरन्तर चलेको विरोध आन्दोलन देशव्यापी रूप लिँदै गएको छ।

यस विरोध आन्दोलनलाई स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ‘जेनजी आन्दोलन’ (Gen Z Movement) नाम दिएका छन्, किनकि यसमा भाग लिने अधिकांश युवा इन्टरनेट मार्फत संगठित भएका छन्। कुनै ठूला राजनीतिक दल वा नेताको नेतृत्वमा नभई टिकटक, डिस्कर्ड जस्ता सामाजिक सञ्जालमार्फत युवाहरू आन्दोलित भएका हुन्।

प्रदर्शनको सुरुवात सन् २०३० को फिफा विश्वकप तयारीमा सरकारद्वारा गरिएको अत्यधिक खर्चको विरोधबाट भएको थियो। मोरक्कोले विश्वकप आयोजनाको तयारीमा अरबौं डलर खर्च गरिरहेको अवस्थामा देशको स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकतालाई बेवास्ता गरिएको भन्दै युवाहरू आक्रोशित भएका हुन्।

“स्टेडियम त छ, तर अस्पताल कहाँ छ?” भन्ने नाराले आन्दोलनले झन् तीव्रता पाएको छ। हालै राजधानी रबात नजिकैको एक सरकारी अस्पतालमा ८ महिलाको मृत्यु भएको घटनाले थप आक्रोश निम्त्याएको छ।

बुधबार सम्म आइपुग्दा राजधानी रबातसहित प्रमुख सहरहरूमा आन्दोलन हिंसात्मक बन्न पुगेको छ। दर्जनौं बैंक, पसल र गाडीहरूमा आगजनी र तोडफोड भएका छन्। सरकारको रिपोर्ट अनुसार, ४०९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने २६३ जना सुरक्षाकर्मी घाइते भएका छन्। १४२ सरकारी सवारीसाधन र २० निजी गाडीहरू क्षतिग्रस्त भएका छन्।

सरकारले प्रदर्शनप्रति सुरुवाती दिनहरूमा चुप रहँदै आएको भए पनि बुधबार गृह मन्त्रालयले सशक्त चेतावनी दिँदै भनेको छ, “कानुन उल्लंघन गर्नेहरूमाथि कठोर कारबाही हुनेछ।”

प्रदर्शनकारीहरूका अनुसार विश्वकप निर्माण कार्यमा व्यापक भ्रष्टाचार भएको छ। युवा पुस्ताले ‘स्टेडियम होइन, शिक्षा र स्वास्थ्य चाहिन्छ’ भन्ने माग गर्दै सडक र सामाजिक सञ्जाल दुवै माध्यमबाट सरकारमाथि प्रश्न उठाएका छन्।

देशमा बेरोजगारी, मूल्यवृद्धि र अवसरहरूको अभाव जस्ता दीर्घकालीन समस्याहरू पनि आन्दोलनको प्रमुख विषय बनेका छन्।

मोरक्कन एसोसिएसन फर ह्यूमन राइट्स लगायतका संस्थाहरूले सरकारलाई दमन होइन, संवादको बाटो अपनाउन सुझाव दिएका छन्। उनीहरूका अनुसार, “वार्ताको सट्टा गिरफ्तारी र बल प्रयोगले जनआक्रोशलाई अझै भड्काइरहेको छ।”


सम्बन्धित समाचार