१६ असोज,झापा। झापाको बिर्तामोडमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमा सुनसरी इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक मोरङ रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको यात्रुवाहक बस बिहीबार बिहान करिब ९ः३० बजे बिर्तामोड नगरपालिका–६ स्थित बुट्टाबारीमा अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खस्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १३ जनाको झापाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुमानअनुसार चालकको लापरवाही वा सवारीको गति नियन्त्रणमा नआएको हुन सक्ने प्रहरीको भनाइ छ।

















