१६ असोज,सर्लाही।तराई–मधेशको मौलिक संस्कृति र वीरताको परम्परालाई पुनः जीवित राख्दै सर्लाहीको धनकौल बजार दुई दिनका लागि कुस्तीको रंगशालामा परिणत भएको छ। श्री दुर्गा पूजाको अवसरमा आयोजित दुई दिने कुस्ती दंगल बुधबारदेखि भव्य रूपमा सुरु भएको हो।
कुस्ती प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले रिबन काटेर गरेका थिए। उनले उद्घाटन समारोहमा बोल्दै भने, “कुस्ती हाम्रो बाजेको पालादेखिको संस्कृति हो, यसको संरक्षण र प्रवद्र्धन आजको पुस्ताले गर्नु पर्छ।”
प्रतियोगिताको पहिलो दिनमै नेपाल र भारतका प्रसिद्ध पहलवानहरूले दर्शकलाई रोमाञ्चक क्षणहरू प्रदान गरे। नेपालका अन्तर्राष्ट्रिय कुस्ती खेलाडीहरू देवा थापा, जावेद गनी, मेवा थापा, कतप, हरिओम दास र वाबा पहलवान लगायतले स्थानीय पहलवानहरूसँग गज्जबको प्रदर्शन गरे।
दर्शकदीर्घामा बाक्लो उपस्थिति रहेको प्रतियोगितामा हर्ष, जयकार र तालिहरूको गुञ्जनले माहोल उत्सवमय बनाएको थियो।
नेपाली कांग्रेस धनकौल गाउँपालिकाका युवा नेता दीपेन्द्र साहका अनुसार कुस्ती प्रतियोगिताको फाइनल भिडन्त आज (असोज १६) हुँदैछ। उनले युवाहरूमा खेलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पारम्परिक खेलकुदको संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
यसअघि, नवमीको रातमा राष्ट्रिय लोक गायिका प्रीति पासवानले प्रस्तुति दिँदा दर्शक झुमेका थिए। गीत, संगीत र नृत्यले भरिएको सांस्कृतिक कार्यक्रमले दंगलको रौनक झनै बढाएको थियो।
कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष रामअस्रे साहसहित विभिन्न वडा अध्यक्षहरूको पनि सक्रिय उपस्थिति रहेको आयोजकहरूले जनाएका छन्।

















