१६ असोज, काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। चम्याती क्षेत्रमा भएको झडपमा तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन्। तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
पीएकेका प्रधानमन्त्री चौधरी अनवारुल हक र संघीय मन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गरेका छन्। प्रधानमन्त्री हकले कुनै पनि प्रकारको हिंसाबाट उद्देश्य प्राप्त हुन नसक्ने भन्दै समस्याको समाधान संवादबाट खोजिनुपर्ने बताएका छन्।
संघीय मन्त्री चौधरीका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उनीहरूलाई पीएकेका आन्दोलनकारी प्रतिनिधिहरूसँग छलफल गरेर समाधान निकाल्ने जिम्मेवारी दिएका छन्। मन्त्री चौधरीले समितिको ९० प्रतिशत माग पूरा भइसकेको जानकारी दिँदै बाँकी विषयमा पनि छलफल गर्न सरकार तयार रहेको बताएका छन्।
प्रधानमन्त्री शरीफले पीएकेमा बिग्रिँदो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको पारदर्शी छानबिन गर्न आदेश दिएका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्न नागरिकको संवैधानिक अधिकार रहेको तर सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यबाट बच्नुपर्ने बताएका छन्। साथै, विरोधबाट प्रभावित परिवारलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन पनि दिएका छन्।
प्रदर्शनकारीहरूले जम्मु कश्मीर पब्लिक एक्शन कमिटी (पीएसी) मार्फत सरकारसँग विभिन्न मागहरू अघि सारेका छन्, जसमा राजनीतिक र प्रशासनिक विशेषाधिकारको अन्त्य, शरणार्थीका लागि १२ विधानसभा सिट, निःशुल्क स्वास्थ्य सेवा, शिक्षा र पोशाक, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, कोटा प्रणालीको अन्त्य र न्यायिक सुधार मुख्य छन्।
हालै सरकार र पीएसीबीच भएको वार्ता असफल भएपछि विरोध प्रदर्शन चर्किएको हो। स्थानीय स्रोतका अनुसार क्षेत्रीय असन्तोष अझ बढ्न सक्ने सम्भावना देखिएको छ।















