Logo

१६ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ३ रनले पराजित भएको छ । क्वालालम्पुरको वायुमास ओभलमा भएको रोमाञ्चक खेलमा नेपालले जितका लागि अन्तिमसम्म संघर्ष गरे पनि सफल हुन सकेन ।

मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक हुँदा कविता जोशी र राजमती ऐरीले ३ रन मात्र जोड्न सके ।

नेपालका लागि पूजा महतोले ३० रनको सर्वाधिक योगदान दिइन् । त्यसैगरी, सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ र कप्तान इन्दु बर्माले १२ रन बनाए ।

बलिङतर्फ मलेसियाकी नुर दानिया स्याडाले ३ विकेट लिइन् भने कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २-२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । नेपालका लागि सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए ।

शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।


सम्बन्धित समाचार