Logo

१७ असोज, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार र छठको अवसरलाई लक्षित गर्दै आन्तरिक उडानका लागि अधिकतम हवाई भाडादर सार्वजनिक गरेको छ।

दशैंतिहार जस्ता चाडपर्वमा हवाई टिकटको माग असामान्य रूपमा बढ्ने, सहज उपलब्धता नहुने र बढी रकम असुल्ने प्रवृत्ति दोहोरिन सक्ने आकलन गर्दै प्राधिकरणले देशभरका विभिन्न गन्तव्यका लागि स्पष्ट भाडादर तोकेर सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार सरकारले स्वीकृत गरेको तोकिएको भाडादरभन्दा बढी रकम यात्रुहरूसँग लिन नपाइने र तोकिएको भन्दा बढी भाडा असुल्ने वायु सेवा प्रदायक कम्पनीमाथि कानूनी कारबाही हुने चेतावनी दिइएको छ।

सार्वजनिक सूचीअनुसार सबैभन्दा महँगो भाडा काठमाडौं–धनगढी मार्गमा तोकिएको छ, जसको अधिकतम दर १७ हजार ५७९ रुपैयाँ छ। सबैभन्दा सस्तो भाडा भने काठमाडौं–सिमरा मार्गमा तोकिएको छ, जसको अधिकतम दर ३ हजार ९७८ रुपैयाँ निर्धारण गरिएको छ।

प्राधिकरणले सार्वजनिक गरेको अधिकतम भाडादर :

  • काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ

  • काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ

  • काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ

  • काठमाडौं–जनकपुर : ५ हजार ४७० रुपैयाँ

  • काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ

  • काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ

  • काठमाडौं–धनगढी : १७ हजार ५७९ रुपैयाँ

  • काठमाडौं–सिमरा : ३ हजार ९७८ रुपैयाँ

  • काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ

  • काठमाडौं–राजविराज : ८ हजार २१० रुपैयाँ

  • काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ

  • काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

प्राधिकरणले यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिन खोजे तत्काल सूचना दिन आग्रह गरेको छ। यस कदमले यात्रु हक अधिकार सुरक्षित हुने र चाडपर्वमा सहज यात्राको वातावरण बनाउन सहयोग पुग्ने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।


सम्बन्धित समाचार