१७ असोज,मस्को । रुस र युक्रेनबीच जारी द्वन्द्वबीच बिहीबार युद्धबन्दीको अर्को चरणमा १८५ सैनिकको आदानप्रदान भएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार, युक्रेनले १८५ जना रूसी सैनिकहरूलाई फिर्ता गरेको छ भने, उक्त प्रक्रियामा २० जना सर्वसाधारणलाई पनि मुक्त गरिएको छ।
रक्षा मन्त्रालयले टेलिग्राममार्फत जानकारी दिँदै, रिहाइ प्राप्त गरेका सैनिकहरूलाई आवश्यक चिकित्सकीय र मनोवैज्ञानिक सहयोग उपलब्ध गराउने जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आदानप्रदानको पुष्टि गर्दै, रिहा गरिएका युक्रेनी सैनिकहरूको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले भने, “हामीले सुरुदेखि नै हाम्रा नागरिकलाई घर फर्काउने अभियान चलाइरहेका छौं। हालसम्म सात हजारभन्दा बढी नागरिकलाई फिर्ता ल्याइसकेका छौं।”
जेलेन्स्कीका अनुसार, रिहा भएका सैनिकहरूलाई पूर्ण सहयोग प्रदान गर्ने वातावरण तयार गरिएको छ।
शान्ति वार्ताबाट सुरु भएको आदानप्रदान
गत मे र जुलाईको बीचमा टर्कीको इस्तानबुलमा भएको रूसी–युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्तापछि युद्धबन्दी आदानप्रदानको प्रक्रिया पुनः तीव्र भएको हो।
दुवै पक्षले द्वन्द्वकालमा मृत्यु भएका सैनिकहरूको शव आदानप्रदान तथा युद्धबन्दीहरूको फिर्ती जस्ता विषयमा पनि आपसी समन्वय गर्दै आएका छन्।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता हजारौँ सैनिकहरू दुबै तर्फबाट मारिएका छन्। तर दुवै पक्षले आफ्ना क्षतिको आधिकारिक विवरण भने नियमित रूपमा सार्वजनिक गरेका छैनन्।















