१७ असोज,वीरगञ्ज । नेपाली राष्ट्रिय चाड दशैंको सार्वजनिक बिदाका दिन सरकारी कार्यालय बन्द रहनुपर्नेमा बाराको सुवर्ण गाउँपालिका कार्यालयभित्र एक अराजक र अशोभनीय दृश्य देखिएपछि स्थानीय जनतामा तीव्र आक्रोश फैलिएको छ।
गाउँपालिका अध्यक्ष राजेश कुमार यादवमाथि कार्यालयभित्रै अर्केस्ट्राका महिला कलाकारहरू बोलाएर नाचगानसहित अश्लील गतिविधि सञ्चालन गरेको गम्भीर आरोप लागेको छ। उक्त घटनापछि हजारौँ स्थानीय बासिन्दाले कार्यालय घेराउ गर्दै अध्यक्ष यादवको राजीनामाको माग गरेका छन्।
स्थानीय जेनेरेशन–जेड (Gen-Z) अगुवा अजय यादवले दिएको जानकारीअनुसार, अध्यक्ष यादवले यसअघि पनि यस्ता गैरजिम्मेवार गतिविधि गर्दै आएको जनगुनासो रहँदै आएको र यसपटकको घटना जनताले सहन नसकी सशक्त प्रतिकारमा उत्रिएका हुन्। “राज्यको स्रोतसाधनको खुलेआम दुरुपयोग गरी व्यक्तिगत मौजमस्ती गर्नेहरुलाई तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ,” उनले भने।
रातभर तनाव, अश्रुग्यास प्रहार गरेर भीड नियन्त्रण
बिहीबार राति करिब २ बजेसम्म जारी नाराबाजी र घेराउका कारण स्थिति तनावपूर्ण बनेपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भएको थियो। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (DSP) विजयराज पण्डितका अनुसार, भीड नियन्त्रणका लागि कम्तीमा ४ राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो।
“ढुंगामुढा पनि भएको थियो, जसका कारण गाउँपालिकाको एउटा झ्यालको सिसा फुटेको छ,” पण्डितले जानकारी दिए। अहिले अवस्था सामान्य रहेको बताइएको छ।
धार्मिक पर्वमा अश्लीलता, जनभावनामा ठेस
दशैंजस्तो पवित्र पर्वको दिन सरकारी कार्यालयभित्र यस्तो गैरजिम्मेवार गतिविधि भएकोमा स्थानीयवासीहरू आक्रोशित छन्। उनीहरूले धार्मिक र सामाजिक मूल्यविपरीत भएको उक्त गतिविधिको कडा भर्त्सना गर्दै अध्यक्ष यादवमाथि तत्काल कारबाहीको माग गरेका छन्।
घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन भइरहेको जनाएको छ। तर अध्यक्ष राजेश कुमार यादव भने सञ्चारकर्मीको सम्पर्कमा आउन चाहेका छैनन्।















