Logo

१८ असोज, काठमाडौं । शनिबार विहान देखि देशका विभिन्न भागमा सुरु भएको भारी वर्षाले बाढी र पहिरोको जोखिम बढाउने देखिएको छ । मौसमविद्हरुले विशेषगरी पहिरो संवेदनशील राजमार्गमा आवतजावत पूर्णरूपमा रोक्नुपर्ने सुझाव दिएका छन् ।

दशैंदेखि निरन्तर झरी भइरहेको अवस्थामा भारतको उडिसा नजिकै बनेको मौसमी प्रणाली शनिबार बिहानदेखि बिहार हुँदै नेपाल प्रवेश गरेको अनुमान छ । यसले वीरगञ्ज, जनकपुरलगायत मधेशका जिल्लामा अति भारी वर्षा गराउने सम्भावना छ । त्यस्तै, पश्चिमतिर बुटवल, भैरहवा, चितवन हुँदै काठमाडौं उपत्यका, मकवानपुर, हेटौंडा, तनहुँ र गोरखासम्म वर्षाको प्रभाव पर्ने देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयका मौसमविद् डा. विनोद पोखरेल भन्छन्,“चितवन, मकवानपुर, काठमाडौं र काभ्रे जस्ता क्षेत्रमा यात्रु चाप बढी हुन्छ । त्यस्ता क्षेत्रमा राजमार्ग बन्द गर्नु नै जनसुरक्षाका दृष्टिले उपयुक्त हुन्छ ।”

काठमाडौं उपत्यका भित्रिने नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौं, बनेपा–बर्दिबास लगायतका सडक खण्ड पहिरोको उच्च जोखिममा रहेका राजमार्ग र सहायक राजमार्ग हुन । कतिपय मोडेलले मुग्लिन आसपासमा समेत ठूलो वर्षाको सम्भावना देखाएका छन् ।

विपद व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले काठमाडौं उपत्यकाभित्रै आवतजावत नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने,“भारी वर्षा बढेमा होचो ठाउँका सडक डुबानमा पर्न सक्छन् । त्यसैले अत्यावश्यक काम बाहेक उपत्यकाभित्रै पनि मानिसले यात्रा नगरे उत्तम हुन्छ ।”

हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती नदी किनारका बस्ती डुबानको उच्च जोखिममा रहेका भन्दै बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यसबीच, बीपी राजमार्ग, कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत सर्वसाधारणलाई राति उपत्यका भित्रिने–निस्किने यात्रा नगर्न आग्रह गरेको छ ।

मौसमविद्हरुका अनुसार, आइतबार रातिसम्म कोशी प्रदेशमा भारी वर्षा हुने र सोमबार बिहानदेखि क्रमिक सुधार देखिने अनुमान छ । तर त्यसअघि कम्तीमा दुई दिन सरकार, स्थानीय निकाय र बस्ती सबै तहमा उच्च सतर्कता आवश्यक हुने उनीहरुको चेतावनी छ ।


सम्बन्धित समाचार