Logo

१८ असोज, काठमाडौं । देशभरि बढ्दो वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारले उच्चस्तरीय तयारी थालेको छ । यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्री कुलमान घिसिङले सम्बन्धित विभागीय प्रमुखहरुको आपत्कालीन बैठक बोलाएका छन् ।

मन्त्री घिसिङको सचिवालयका अनुसार, बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य उद्देश्य मौसम र देशभरका सडकहरुको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी लिनु, सडक सुरक्षाको तयारीबारे समीक्षा गर्नु र सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक निर्देशन दिनु रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले वर्षाको मात्रा र क्षेत्र अझै बढ्न सक्ने चेतावनी दिएसँगै बाढी, पहिरो र डुबान जस्ता समस्याले विकराल रूप लिन सक्ने आशंका गरिएको छ ।

यस विषम परिस्थितिको सामना गर्न सरकारले पूर्वतयारी स्वरूप केही महत्त्वपूर्ण निर्णयहरू गरिसकेको छ । ती निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि बैठकमा छलफल हुनेछ ।

सरकारका प्रमुख तयारीहरूमा निम्न बुँदाहरू समावेश छन्:

  • जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने ।
  • पहिरोको उच्च जोखिम भएका राजमार्ग र सडकखण्ड नजिकै पहिरो पन्छाउने डोजर, एक्स्काभेटर जस्ता मेसिन र उपकरणहरु तयारी अवस्थामा राख्ने ।
  • अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि यात्रामा रोक लगाउने वा निरुत्साहित गर्ने ।

मन्त्री घिसिङले यी निर्णयहरुको प्रभावकारी कार्यान्वयनका लागि विभागीय प्रमुखहरुसँग छलफल गरी थप रणनीति तय गर्नुहुनेछ । यो बैठकलाई सरकारले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको संकेतको रुपमा लिइएको छ ।


सम्बन्धित समाचार