Logo

१८ असाज, काठमाडौँ । लगातारको भारी वर्षाका कारण हुनसक्ने सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै लामो दूरीका सवारीसाधन सञ्चालनमा असोज २० गतेसम्मका लागि रोक लगाएको छ। आज बिहानै अत्यन्त जरुरी सूचना जारी गर्दै प्राधिकरणले यो निर्णय लागू गरेको हो ।

किन गरियो बन्द?

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षादेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ। यसबाट उत्पन्न हुन सक्ने ठूलो विपद् जोखिमबाट यात्रु तथा सम्पत्तिको सुरक्षाका लागि यो कदम चालिएको प्राधिकरणले जनाएको छ।

कहाँकहाँ लागू हुन्छ?

यो प्रतिबन्ध कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनहरूमा लागू हुनेछ।

यात्रुहरूलाई अनुरोध

प्राधिकरणले यातायात बन्दले यात्रुहरूलाई परेको असुविधाप्रति क्षमा माग्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न सबैलाई अनुरोध गरेको छ। प्रवक्ता शान्ति महत द्वारा हस्ताक्षरित सूचनामा सो अवधिभर सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक एवं अद्यावधिक सूचनाहरू रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यमबाट प्राप्त गर्नसमेत सूचित गरिएको छ।

यो निर्णयको पालना गराउन र निरन्तर अनुगमन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई समेत निर्देशन दिइएको छ।


सम्बन्धित समाचार