१८ असोज, काठमाडौं । आगामी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विशेष निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सम्बन्धित सबै कार्यालय प्रमुखहरू कार्यस्थलमा पुगिसक्ने गरी आवश्यक व्यवस्था गर्न भनेको हो। सम्भावित प्राकृतिक विपद् र जोखिमको अवस्थामा तत्कालीन प्रतिकार्य तथा सेवा प्रवाह सुनिश्चित गर्न यो कदम चालिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा जिल्ला समन्वय अधिकारीहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत सो निर्देशन कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ।
सरकारले जारी मौसम पूर्वानुमानलाई गम्भीरतापूर्वक लिँदै सबै तहका सरकारी निकायहरूलाई सतर्कता, पूर्वतयारी तथा आपतकालीन व्यवस्थापनमा सक्रिय रहन आह्वान गरेको छ। यस अवधिमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का जोखिम उच्च हुन सक्ने भएकाले नागरिकहरूलाई समेत सजग रहन अनुरोध गरिएको छ।















