Logo

१८ असोज, काठमाडौं ।  देशभर अविरल वर्षासँगै विभिन्न क्षेत्रमा विपद्को जोखिम बढेपछि नेपाल सरकारले सशस्त्र प्रहरी बलका ७ हजार ३१५ जना जवानलाई तत्कालिक प्रतिकार्यका लागि परिचालन गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा विपद् प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार, वर्षासँगै बाढी, पहिरो र डुबानको सम्भावना बढेकाले उच्च सतर्कता अपनाउँदै सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको हो।

देशका ६३ जिल्लामा माइकिङ, सचेतना टोली परिचालन

प्राधिकरणका अनुसार देशका ६३ जिल्लामा माइकिङमार्फत सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। स्थानीय तह, सुरक्षा निकाय र जनप्रतिनिधिसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

केसीले विभिन्न स्थानमा खटिएका टोलीहरूले लगातार सूचना प्रवाह र जोखिम क्षेत्रको निगरानी गरिरहेको जानकारी दिए।

२६ नयाँ विपद् वेश स्थापना, स्वयंसेवक तयार

विपद् व्यवस्थापन र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारका तर्फबाट २६ नयाँ विपद् प्रतिकार्य वेशहरू स्थापना गरिएका छन्। यसअघि रहेका ९ वेशसहित देशभरका युनिटहरू तयारी अवस्थामा छन्।

त्यस्तै, विपद् प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ९९० जना स्वयंसेवकलाई विशेष १८ दिने तालिम दिइसकिएको छ। उद्धार कार्यका लागि आवश्यक पर्ने सबै उपकरण तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार तुरुन्त प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको उपसचिव केसीले जानकारी दिए।

सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमानअनुसार केही दिन लगातार वर्षा हुने सम्भावना रहेकाले सरकार र सम्बन्धित निकायहरूलाई उच्च सतर्कताका साथ विपद् प्रतिकार्यमा खटिन आग्रह गरिएको छ। सर्वसाधारणलाई जोखिमपूर्ण स्थानहरूबाट टाढा रहन र सरकारी सूचनालाई पालना गर्न समेत आग्रह गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै