१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान राजनीतिक र सामाजिक परिवेशलाई ध्यानमा राख्दै संगठन सुदृढीकरण, संघर्ष, प्रशिक्षण र आगामी निर्वाचनलाई शीर्ष प्राथमिकतामा राखेर पार्टीलाई अगाडि बढाउने रणनीति सार्वजनिक गरेको छ।
पार्टीको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार दशैंलगत्तै देशभर पार्टीको संगठनात्मक गतिविधि तीव्र पारिनेछ। जसअनुसार, प्रदेश अधिवेशनहरू, राष्ट्रिय समितिहरूका बाँकी कार्यहरू सम्पन्न गर्ने, सम्पूर्ण संसदीय निर्वाचन क्षेत्र समन्वय समिति, बुथ समिति, गाउँ/वडा र टोलस्तरका संरचनाहरू गठन तथा परिचालन गर्ने कार्य प्राथमिकतामा राखिएको छ।
बुथस्तरमै स्वयंसेवक परिचालन, व्यापक प्रशिक्षण कार्यक्रम
पार्टीले प्रत्येक बुथस्तरमै स्वयंसेवक तयार गरी प्रशिक्षण दिने र परिचालन गर्ने योजना बनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै प्रदेश तथा जिल्ला समितिहरूमार्फत जनपरिचालन अभियान सञ्चालन गरिने, पार्टी प्रवेशका कार्यक्रमहरू व्यापक बनाइने, र भातृ संगठनहरूलाई समेत आवश्यकतानुसार गठन र परिचालन गरिने बताइएको छ।
संविधान संशोधनदेखि जनजीविकासम्मका मुद्दा जनतामाझ लैजाने
जसपा नेपालले संविधान संशोधन, जनसंख्याका आधारमा प्रतिनिधित्व, पहिचानको सवाल, राज्य पुनर्संरचना, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, पिछडावर्ग, महिला र अल्पसंख्यक समुदायका अधिकार लगायतका मुद्दाहरूलाई जनताको माझमा पुर्याउने अभियान सञ्चालन गर्ने भएको छ।
त्यस्तै, स्थानीय स्तरमा रहेको भ्रष्टाचार, गरिबी, बेरोजगारी, सामाजिक सुरक्षा लगायत जनजीवनसँग गाँसिएका विषयहरूलाई राजनीतिक एजेन्डाको रूपमा उठाउँदै जनचेतना अभिवृद्धि गरिने योजना रहेको छ।
६७ बुँदे माग र नीति कार्यक्रम जनतासमक्ष पुर्याउने
पार्टीले विगतमा सरकारसमक्ष प्रस्तुत गरेको ६७ बुँदे माग र प्रस्तावहरूलाई पनि जनतासामु लान प्रचार अभियान सञ्चालन गर्नेछ। जसपाको विचार, नीति र कार्यक्रमलाई स्थापित गर्न विचार गोष्ठी, कोणसभा, आमसभा, प्रदर्शन लगायतका कार्यक्रमहरू सञ्चालन गरिने बस्नेतले जानकारी दिए।
निर्वाचन लक्षित प्रशिक्षण र तयारी तीव्र
पार्टीले निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, मतदाता सचेतना र मतदाता सूची अद्यावधिक लगायत विषयमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
प्रदेश, जिल्ला र स्थानीय समिति तहमा चुनाव केन्द्रित कार्यक्रम तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने निर्देशन दिइएको छ। निर्वाचन क्षेत्रस्तरीय तथ्यांक संकलन, विभिन्न पार्टीहरूको स्थिति विश्लेषण, रिपोटिङ्ग, जित्न सकिने सम्भावना भएका क्षेत्रमा शक्ति केन्द्रित गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताइएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा संघर्ष जारी रहने
जसपा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र प्रवर्द्धनलाई आफ्नो मुख्य लक्ष्य मान्दै संघर्षका कार्यक्रमहरू निरन्तर जारी राख्ने जनाएको छ।
पार्टीको समग्र रणनीति अबको दिनमा संगठन विस्तार र आगामी निर्वाचन तयारीमा केन्द्रित रहने देखिएको छ।















