१८ असोज, हेटौंडा । लगातारको भारी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम बढेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मुख्य र वैकल्पिक सडकहरू तीन दिनका लागि बन्द गरिएको छ। मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेक सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार, विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो। सडक अवरुद्ध भएसँगै त्रिभुवन राजपथ, कान्तिलोकपथ, कुलेखानी–फाखेल–फर्पिङ, र कुलेखानी–सिस्नेरी–फर्पिङ मार्गबाट सञ्चालन हुने दैनिक १ हजारभन्दा बढी सवारीसाधन प्रभावित भएका छन्।
प्रहरी सक्रिय, सवारी फर्काउने कार्य तीव्र
सडक बन्दको निर्णयसँगै जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरू राजधानीतर्फ जान खोज्ने सवारीसाधनहरूलाई विभिन्न नाका तथा चेकपोस्टहरूबाट फर्काउन सक्रिय भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले त्रिभुवन राजमार्गअन्तर्गत हेटौंडाको चौकिटोलबाट दुई, चार र छ पाङ्ग्रे सवारीसाधनलाई फर्काउने कार्य भइरहेको जानकारी दिए।
बाटोमै अलपत्र परेकाको व्यवस्थापन
सडक बन्दले गर्दा यात्राका क्रममा बीच बाटोमै रोकिएका यात्रु र सवारीसाधनहरूको व्यवस्थापनमा समेत प्रहरी खटिएको छ। स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरूको सहकार्यमा यात्रुहरूको सुरक्षाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।यद्यपि, प्रशासनले स्वास्थ्य, सुरक्षा र अत्यावश्यक सेवामा संलग्न सवारीसाधनहरूलाई भने पास प्रणालीमार्फत सञ्चालनको अनुमति दिने जनाएको छ।
प्रशासनको आग्रह
मकवानपुर प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कार्यबाहेक यात्रा नगर्न, वैकल्पिक योजना बनाउन र प्रशासन तथा सुरक्षाकर्मीको निर्देशनको पालना गर्न आग्रह गरेको छ।
भारी वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान रहेकाले सडक क्षेत्र आसपासका बासिन्दालाई पनि सचेत रहन प्रशासनले अनुरोध गरेको छ।















