Logo

१९ असोज, काठमाडौं । निरन्तर परिरहेको वर्षा र लगातारका पहिरोका कारण काठमाडौं उपत्यकासहित देशका प्रमुख राजमार्गहरू बन्द भएका छन्। दशैं मनाउन घर गएका सर्वसाधारणमध्ये धेरैजना फर्कने क्रममा बीच बाटोमै अलपत्र परेका छन्।

सरकारले विपद्को जोखिमका कारण आइतबार र सोमबार देशव्यापी सार्वजनिक बिदा घोषणा गरेपछि समयमै कार्यालय वा कर्मथलो पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरूलाई केही राहत भए पनि अत्यावश्यक कार्यका लागि आवतजावत गर्नुपर्नेहरू भने ठूलो सास्तीमा परेका छन्।

गृहमन्त्रालयका अनुसार, बाढी र पहिरोको जोखिम बढ्न थालेपछि सरकारले हिजोदेखि नै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधन र लामो दूरीका बसहरूको सञ्चालनमा रोक लगाएको छ। अत्यावश्यक सेवा बाहेकका सवारीसाधन भोलिसम्म सञ्चालन गर्न नपाइने जनाइएको छ।

बीपी राजमार्गमा पर्ने रोशी खोलामा गत वर्ष असोजमा आएको बाढीपछि बनाइएका अस्थायी डाइभर्सनहरू फेरि बगाएपछि सडकका धेरै खण्डमा कटान भएको छ। साथै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गा क्षेत्रमा खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामा खसेको पहिरोले फर्पिङ–सस्नेरी सडकखण्ड बन्द भएको छ। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो क्षेत्रमा सडक भासिएको र धुलिखेल–खावा सडकखण्डमा पनि ठूला पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सडक यातायात मात्रै होइन, नारायणगढ–मुग्लिन र नागढुंगा–मुग्लिन सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छन्। राजमार्गमा बीच बाटोमै रोकिएका यात्रुहरूलाई सुरक्षित स्थानमा लैजाने र तत्कालीन राहत व्यवस्थापन गर्ने कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ।

यात्रीहरूको सुविधाका लागि काभ्रेको धुलिखेल, चितवनका विभिन्न होटल र कोशी राजमार्गका व्यवसायीहरूले खाना तथा बासको व्यवस्था मिलाएका छन्।

यसैबीच, अविरल वर्षाले हवाइ यातायात पनि प्रभावित बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक सबै उडान पूर्ण रूपमा बन्द छन् भने केही अन्तर्राष्ट्रिय उडानहरू अन्य देशका विमानस्थलमा डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिएका छन्।

अब देशका अधिकांश भागमा ठूलो वर्षाको सम्भावना नरहे पनि हल्कादेखि मध्यम वर्षा भने केही स्थानमा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यो  चेतावनीसँगै नागरिकलाई अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह मौसम पूर्वानुमान महाशाखाले गरेको छ।


सम्बन्धित समाचार
भर्खरै