Logo

१९ असोज, काठमाडौं । इलाम जिल्लाको विभिन्न स्थानीय तहहरूमा आइतबार रातिदेखिको निरन्तर वर्षापछि गएको पहिरोमा परी कम्तीमा १८ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकाका विभिन्न वडाहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार, इलाम नगरपालिका–५, घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१, पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५, धारेमा १ जना, त्यसै नगरपालिकाको धुसुनेमा २ जना, तथा फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

माङसेबुङमा दुई जना गम्भीर घाइते भएको जनाउँदै, उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लैजाने तयारी गरिएको थियो। तर, लगातारको वर्षा र खराब मौसमका कारण हेलिकप्टर परिचालनमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरूको सहकार्यमा उद्धार तथा राहत कार्य जारी रहेको छ। पहिरोका कारण बस्तीहरू जोखिममा परेका छन् भने कैयौं घरपरिवार विस्थापित भएका छन्।

प्रहरीले स्थानियबासीहरूलाई सतर्क रहन र आवश्यक परेको खण्डमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरेको छ। लगातारको वर्षाका कारण थप पहिरोको जोखिम कायमै रहेकोले जोखिमयुक्त क्षेत्र खाली गर्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार