१९ असोज, काठमाडौं । असोज १७ गतेदेखि लगातार जारी भारी वर्षाका कारण देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो र चट्याङका घटनाले हालसम्म १९ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १२ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै मृत्यु, बेपत्ता र घाइतेहरूको विवरण सार्वजनिक गरेको हो।
प्राधिकरणका अनुसार विपद्का घटनामा ८ जना बेपत्ता र ११ जना घाइते भएका छन्। मृतकमध्ये सबैभन्दा बढी इलाममा १४ जनाको ज्यान गएको पुष्टि भएको छ। इलाममा पहिरोका कारण यी सबैको मृत्यु भएको हो।
अन्य घटनाहरूमा खोटाङ र उदयपुरमा खोलाले बगाउँदा एक–एक जनाको मृत्यु भएको छ भने रौतहटमा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका छन्।
बेपत्तामध्ये इलाम र रसुवामा चार–चार जना छन्। इलाममा पहिरोले बेपत्ता बनाएका चार जनाको खोजी कार्य जारी छ भने रसुवामा खोलाले बगाएर बेपत्ता बनाएका व्यक्तिहरुको उद्धार प्रयास भइरहेको छ।
वर्षासँगैको विपत्तिमा इलाममा ४ जना पहिरोका कारण, भोजपुर र खोटाङमा चट्याङ लागेर ३–३ जना, र मकवानपुरमा एक जना घाइते भएका छन्।
सरकारले प्रभावित क्षेत्रहरूमा राहत तथा उद्धार कार्य तीव्र बनाएको जनाएको छ। गृह मन्त्रालयले नागरिकहरूलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय र उद्धारकर्मीहरूलाई परिचालन गरी प्रभावित नागरिकहरूको उद्धार र राहत सुनिश्चित गर्न निर्देशन दिइएको छ।















