१९ असोज, काठमाडौं । इलाम जिल्लामा अविरल वर्षाका कारण गएको विनाशकारी पहिरोमा परी हालसम्म ३४ जनाको ज्यान गएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बलले संकलन गरेको तथ्यांकअनुसार पहिरोले विभिन्न स्थानीय तहमा मानवीय क्षति पुर्याएको हो।
सुरक्षा निकायका अनुसार इलामको सूर्योदय नगरपालिका–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाई नगरपालिका मा ८ जना, फाकफोकथुम गाउँपालिका मा १ जना, माङ्सेबुङ गाउँपालिका मा ३ जना, माइजोगमाई गाउँपालिका मा ७ जना र सन्दकपुर गाउँपालिका मा ४ जनाको ज्यान गएको छ।
पानीले नरोकिएर लगातार झरेपछि पहाड खस्यो र थुप्रै घर पहिरोले पुरिएका छन्। घरमै थुनिएकाहरूको ज्यान गएको हो। घाइतेहरूको उद्धार गरी हेलिकप्टरमार्फत उपचारका लागि लगिँदैछ।
मृतकहरूको विवरण
हालसम्म पहिचान भएका मृतकमध्ये सूर्योदय नगरपालिका–१ का करिब ६०–६५ वर्षकी मनमाया क्षेत्री, ११ वर्षीया रश्मिका क्षेत्री, एक अन्दाजी ४०–४५ वर्षकी महिला र १५–१६ वर्षकी किशोरी छन्, जसको ठेगाना खुलेको छैन।
इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन, २३ वर्षीय विराज पाख्रिन, ३२ वर्षीया अनु तामाङ, ३२ वर्षीया प्रनिशिका मगर, र ४ वर्षीय आरुष दनुवार पनि पहिरोमा परि ज्यान गुमाउनेमा परेका छन्।
सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका टोली घटनास्थलमा खटिएका छन्। स्थानीयवासी र स्वयंसेवकको सहयोगमा उद्धार कार्य जारी छ। केही ठाउँमा अझै हराइरहेका व्यक्तिहरुको खोजी भइरहेको छ।
सरकारले घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि तत्काल कदम चाल्ने बताएको छ।















