Logo

१९ असोज, काठमाडौं । लगातारको वर्षापछि गएको बाढी र पहिरोले देशभर ४९ जनाको ज्यान लिएको छ । नेपाल प्रहरीले दिउँसो साढे १ बजेसम्म संकलन गरेको पछिल्लो विवरणअनुसार, शुक्रबार र शनिबार (असोज १७ र १८) का दिन आएको विपद्ले सबैभन्दा बढी मानवीय क्षति पुर्‍याएको हो ।

मानवीय क्षतिको हिसाबले सबैभन्दा बढी असर कोशी प्रदेशका जिल्लाहरूमा परेको छ । इलाममा मात्रै ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यसैगरी, पाँचथरमा ६ जना, उदयपुरमा २ जना, र खोटाङमा १ जनाले बाढी–पहिरोका कारण ज्यान गुमाएका छन् ।

रौतहटमा ३ जनाले बाढीका कारण ज्यान गुमाएका छन् । यसअघि पनि उक्त क्षेत्र बाढीबाट प्रभावित हुँदै आएको छ ।प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ जना र काठमाडौंमा १ जना बाढी वा पहिरोमा परी बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सुरक्षा निकाय, नेपाली सेना र स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन अझै वर्षा हुने संकेत गरेकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।


सम्बन्धित समाचार