Logo

१९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले हालैको बाढी तथा पहिरोबाट उत्पन्न विपद्का बेला सरकारी सतर्कता र समन्वयका कारण मानवीय क्षति न्यून भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले “इलाम बाहेक अन्य ठाउँमा बाढीबाट मानवीय क्षति नभएको” स्पष्ट पारे । उनका अनुसार, इलाममा मात्र ३५१ मिलिमिटर वर्षा भई अतिवृष्टिका कारण पहिरो जाँदा जनधनको क्षति भएको हो।

“सरकारको समयमै अपनाइएको सतर्कता र समन्वयका कारण बाढीबाट ठूला मानवीय क्षति टर्‍यो,” मन्त्री घिसिङले भने।

मन्त्री घिसिङले विभिन्न स्थानमा बाढी र पहिरोले तटबन्ध, सडक, पुल र कृषि क्षेत्रहरूमा ठूलो भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै सरकारले त्यसको यथाशीघ्र पुनर्निर्माणलाई प्राथमिकता दिने बताएका छन्।उनले काठमाडौंबाट पश्चिमतर्फ जाने मुख्य सडकहरू खुलाउने काम तत्काल अघि बढाइएको जनाए। पूर्वी नेपालमा अझै वर्षा जारी रहेकाले केही चुनौती रहेको बताउँदै “भोलिसम्ममा वर्षा घट्ने सम्भावना” रहेको अनुमान व्यक्त गरे।

असोज १७ र १८ गते आएको अविरल वर्षापछि देशका विभिन्न भागमा बाढी र पहिरोको समस्या देखिएको छ। कोशी प्रदेशको इलाममा सबैभन्दा बढी जनधनको क्षति भएको छ भने झापा, मोरङ, महोत्तरी, रौतहट, सिरहा लगायतका स्थानमा तटबन्ध कटान, खेत डुबान र बस्ती विस्थापन जस्ता समस्याहरू देखिएका छन्।

सरकारले विपद्पछि उत्पन्न अवस्थाको मूल्याङ्कन गर्दै तत्काल राहत, उद्धार र पुनर्निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै