१९ असोज, काठमाडौं । भारतका कम्तीमा तीन राज्यले बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि सिरपमाथि प्रतिबन्ध लगाएका छन्। मध्य प्रदेश, तमिलनाडु र केरला राज्यले ‘कोल्ड्रिफ कफ सिरप’ नामक खोकीको औषधिमा रोक लगाएका हुन्।
मध्य प्रदेश र राजस्थानमा हालै अगस्ट महिनाको अन्त्यदेखि ५ वर्षमुनिका कम्तीमा ९ बालबालिकाको मृत्यु उक्त सिरप प्रयोगसँग सम्बन्धित रहेको पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले गरेको प्रयोगशालागत परीक्षणले उक्त सिरपमा औद्योगिक विलयनमा प्रयोग हुने विषाक्त पदार्थ डाइथाइलिन ग्लाइकोल रहेको पाइएको छ।
डाइथाइलिन ग्लाइकोल सानो मात्रामा समेत सेवन गर्दा बालबालिकाका लागि घातक हुन सक्ने बताइएको छ।
यो ‘कोल्ड्रिफ कफ सिरप’ दक्षिण भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा कम्पनीले उत्पादन गरेको हो। सन् २०२२ मा यो सिरपको प्रयोगका कारण गाम्बियामा पनि ७० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको थियो।
स्वास्थ्य अधिकारीहरूले अहिले यो सिरपको प्रयोग नगर्न र बजारबाट तुरुन्तै हटाउन आग्रह गरेका छन्।

















