Logo

२० असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालैको भारी वर्षाका कारण इलामलगायतका विभिन्न स्थानहरूमा भएको विपद् र जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले वर्षाजन्य विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेकी छिन्। साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्।

प्रधानमन्त्री कार्कीले विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वयंसेवी संस्था तथा नागरिकहरूको भूमिकाको प्रशंसा गरेकी छन्। उनले लेखेकी छन्, “विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य, एकता र आपसी सहयोग प्रशंसनीय छ। म यसका लागि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु।”

उनका अनुसार प्रभावित क्षेत्रहरूमा राहत वितरण र उद्धार कार्य निरन्तर जारी रहेको छ। सरकारले स्थानीय निकायहरूसँग समन्वय गरी जोखिममा परेका नागरिकहरूको सुरक्षा र पुनःस्थापनाका लागि आवश्यक पहल अघि बढाइरहेको समेत उनले जानकारी दिएकी छन्।

प्रधानमन्त्रीले सम्पूर्ण नेपाली नागरिकलाई यस्तो विपद्को घडीमा एकअर्काप्रति सहयोगी भावना कायम राख्न र सरकारी निर्देशनअनुसार सतर्क रहन आग्रह पनि गरेकी छन्।


सम्बन्धित समाचार
भर्खरै