२० असोज, काठमाडौँ । राजधानीमा मौसम सुधार भएपछि सोमबारदेखि सबै सरकारी कार्यालय सञ्चालनमा आउने भएका छन्। लगातारको वर्षा र जोखिमका कारण दुई दिनका लागि घोषित बिदामध्ये एक दिन कटौती गर्दै सोमबारदेखि कार्यालयहरू खुला राख्ने निर्णय भएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार सार्वजनिक सूचना जारी गर्दै मिति २०८२ असोज २० गते सोमबार बिहान १० बजेपछि सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय तहका कार्यालयहरू सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।
सूचनामा भनिएको छ, “दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएका र तत्काल उद्धार तथा राहतमा जुट्नुपर्ने अवस्थाका कारण १९ र २० गते दुई दिनका लागि सार्वजनिक बिदा घोषणा गरिएकोमा हाल मौसममा सुधार भई जोखिमको अवस्था टरीसकेकाले सोमबार बिहान १० बजेदेखि नियमित सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारी उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिन्छ।”
मौसममा आएको सुधारसँगै राजधानीका मुख्य सडक तथा आवागमनमार्गहरू पुनःसञ्चालनमा आउँदैछन्। यसअघि सरकारकाे निर्णयअनुसार आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर वर्षाको तीव्रता घट्दै गएपछि प्रशासनले सोमबारको बिदा कटौती गरी सेवा प्रवाह सहज बनाउन कार्यालय खोल्ने व्यवस्था गरेको हो।
काठमाडौँ प्रशासनले नागरिकहरूलाई आवश्यक सेवाका लागि सम्बन्धित कार्यालयहरूमा पुग्न आग्रह गर्दै विपद् व्यवस्थापन र राहतसम्बन्धी कार्यहरू भने निरन्तर सञ्चालनमा रहने जनाएको छ।
















