२० असोज, चितवन । रातभर बन्द रहेको नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो ।
प्रहरीका अनुसार पहिरो हटाउने कार्य सम्पन्न भएपछि सवारी आवागमन सहज बनेको छ। हाल सडकखण्डमा कुनै प्रकारको अवरोध नरहेको भए पनि सो क्षेत्र पहिरो जोखिमयुक्त भएकाले यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रहरीले सतर्कता अपनाउन अनुरोध गर्दै, वर्षा भइरहेमा पुनः पहिरो खस्ने सम्भावना कायम रहेको जनाइएको छ। साथै, जोखिमपूर्ण भागमा ट्राफिक प्रहरी र सुरक्षाकर्मी परिचालन गरी यातायात सञ्चालनलाई सुरक्षित बनाइएको छ।
गत केही दिनयता अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध हुँदै आएको थियो। उक्त सडकखण्ड देशका प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले सडक बन्द हुँदा राजधानीलगायतका क्षेत्रमा मालसामान आपूर्तिमा समेत असर परेको थियो।















