२० असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालका प्राकृतिक विपद्का कारण पानीजन्य तथा कीटजन्य रोग फैलिने जोखिम बढेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विपद्का समयमा पानी प्रदूषित हुनसक्ने भएकाले पखाला, हैजा, टाइफाइडजस्ता पानीजन्य रोग र डेङ्गी, मलेरियाजस्ता कीटजन्य रोगको जोखिम बढ्न सक्छ। उनले यस अवस्थामा सबै नागरिकले शुद्ध, उमालेको पानी मात्र पिउने, खानेकुरा राम्ररी पकाएर सेवन गर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
डा. बुढाथोकीले थपे, “प्राकृतिक विपद्मा परेकाहरूको बासस्थान, खानपान र सरसफाइको अवस्था कमजोर हुँदा खानासम्बन्धी रोग, आँखा पाक्ने समस्या र मानसिक स्वास्थ्यसम्बन्धी कठिनाइहरू समेत देखिन सक्छन्। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आवश्यक छ।”
मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूलाई समुदायस्तरमा शुद्ध पानी पिउने, खानेकुरा ढाकेर राख्ने र फोहरपानी व्यवस्थापनमा सचेतना फैलाउन निर्देशन दिएको छ। साथै, बाढी तथा डुबान प्रभावित क्षेत्रहरूमा आवश्यक औषधि र स्वास्थ्य सामाग्री पठाउने कार्य पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ।
आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा लिनुपर्ने भए तालिमप्राप्त चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा नागरिकले हटलाइन नम्बर १०२ मा सम्पर्क गर्न सक्नेछन्। यस्तै, स्वास्थ्यसम्बन्धी थप जानकारी वा सल्लाह आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

















