Logo

२० असोज, काठमाडौँ । दक्षिण चीनमा आइतबार आएको शक्तिशाली ‘तुफान माट्मो’ का कारण कम्तीमा २ लाख ७१ हजार ५०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको यो आँधी आइतबार दिउँसो २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै आपतकालीन स्थिति घोषणा गरिएको हो।

ग्वाङ्डोङ मौसम सेवाका अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो। आँधीको गम्भीर प्रभावलाई मध्यनजर गर्दै ग्वाङ्डोङ प्रान्तले आफ्नो तुफान आपतकालीन प्रतिक्रिया प्रणालीलाई सबैभन्दा उच्च स्तरमा पु-याएको छ।

राष्ट्रिय दिवस र मध्य-शरद उत्सवको अवसरमा आठ दिने विदा चलिरहँदा यातायात सुरक्षालाई प्राथमिकता दिँदै रेलवे प्राधिकरणले अस्थायी परिवर्तन, रेल सेवा स्थगन लगायतका निर्णयहरू लिएको छ। ग्वाङ्सी झुवाङ स्वायत्त क्षेत्रमा सबै तटीय डुङ्गा सेवाहरू बन्द गरिएको छ भने वेइझोउ टापुबाट करिब २६ हजार पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ।

समुद्री प्रशासनले आपतकालीन सतर्कता जारी गर्दै २० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई बन्दरगाह फर्काएको छ, साथै ८८९ अन्य जहाजहरूलाई सुरक्षित रूपमा रोकेको छ। हाइनान प्रान्तमा मात्रै १ लाख ९७ हजारभन्दा बढी नागरिकलाई उच्च जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

पानी र बिजुली आपूर्तिमा समस्या नहोस् भनेर हाइनानका आपूर्ति विभागहरूले ३ हजार ९ सयभन्दा बढी आपतकालीन जेनेरेटर, तेल तथा बिजुली उत्पादन गाडी तयारी अवस्थामा राखेका छन्। हाइकोउ सहरका ७१ होटलले प्रभावित पर्यटकहरूका लागि छुटसहितको सेवा प्रदान गरिरहेका छन्।

यसैबीच, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले ग्वाङ्डोङ र हाइनान प्रान्तमा आपतकालीन पुनःस्थापना तथा राहत कार्यका लागि २०० मिलियन युआन (झन्डै २८ मिलियन अमेरिकी डलर) केन्द्रीय बजेटबाट उपलब्ध गराएको जनाएको छ।


सम्बन्धित समाचार