२० असोज, काठमाडौँ । दक्षिण प्रशान्त महासागरमा अवस्थित सानो द्वीप राष्ट्र फिजीमा एचआईभी (HIV) संक्रमितको संख्या अकल्पनीय रूपमा वृद्धि भएको छ। बीबीसीको रिपोर्टअनुसार, फिजीमा एचआईभी संक्रमण सन् २०१४ को तुलनामा हालसम्म एक हजार प्रतिशतले बढेको छ, जसले देशलाई महामारीको उच्च जोखिममा पुर्याएको छ।
सन् २०१४ मा फिजीमा ५०० भन्दा कम एचआईभी संक्रमित रहेका थिए। तर, सन् २०२४ मा संक्रमितको संख्या ५,९०० पुगेको छ। एक वर्षभित्र मात्र, अर्थात् सन् २०२४ मा नै, १,५८३ नयाँ संक्रमित फेला परेका छन्।
फिजीको स्वास्थ्य मन्त्रालयका अनुसार, लागुपदार्थको दुरुपयोग, असुरक्षित यौनसम्पर्क, र सुईको साझा प्रयोग एचआईभी फैलनुका मुख्य कारणहरू हुन्। मन्त्रालयले चेतावनी दिँदै सन् २०२५ को अन्त्यसम्ममा यो संख्या दोब्बर हुन सक्ने अनुमान गरेको छ। अनुमानअनुसार, आगामी केही महिनाभित्र ३,००० नयाँ संक्रमित थपिने सम्भावना छ।
विशेषज्ञहरूले चेतावनी दिँदै उच्च जोखिमयुक्त समूहमा तत्काल परीक्षण, शिक्षा र निःशुल्क औषधोपचारको पहुँच सुनिश्चित नगरेसम्म महामारीको स्थिति नियन्त्रणबाहिर जान सक्ने बताएका छन्।
फिजी सरकारले संक्रमण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, यौन शिक्षाको विस्तार, र स्वास्थ्य सेवा प्रणाली सुधारतर्फ पहल थालेको जनाएको छ। तर, यो दरमा संक्रमण फैलिइरहे स्थिति अझ गम्भीर बन्ने चेतावनी दिइएको छ।

















