२० असोज, सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–८, अरङमा पाँच दलित परिवारको घरमाथि सामूहिक आक्रमण, तोडफोड र लुटपाट गरेको गम्भीर आरोपमा वडा अध्यक्ष रामकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको छ।
घटना शुक्रबार साँझ करिब ५ बजेतिर भएको हो। अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घरमा २०–२५ जनाको समूहले आक्रमण गरेको पीडितहरूले बताएका छन्।
राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंहसहितको समूहले घरका सामानहरू तोडफोड गर्नुका साथै लुटपाट गरेको पीडित पक्षको दाबी छ। पीडितहरूका अनुसार, आक्रमण प्रहरीको अगाडि भएको थियो, तर प्रारम्भिक सुरक्षा टोली उदासीन रहेको बताइएको छ। स्थिति नियन्त्रणमा लिन मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुग्नुपरेको थियो।
घटनापछि पीडित पक्षले वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव अन्तर्गत इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। जाहेरीको आधारमा प्रहरीले यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको छ भने बाँकी अभियुक्तहरूको खोजी जारी रहेको सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए।
एसपी शर्माले अनुसन्धानका क्रममा थप व्यक्तिहरूको संलग्नता देखिएमा उनीहरूमाथि पनि कानुनी कारबाही अघि बढाइने बताएका छन्।
स्थानीयवासीका अनुसार यो आक्रमण पूर्वनियोजित थियो। असोज १ गतेको विश्वकर्मा पूजाको अवसरमा आयोजित आर्केस्ट्रा कार्यक्रममा दलित समुदायसँग प्रभास सिंह समूहको विवाद भएको थियो। सोही विवादको रिसइबीमा दलित परिवारमाथि आक्रमण गरिएको पीडितको भनाइ छ।
एक जना जनप्रतिनिधि आफैं आक्रमणमा संलग्न भएको आरोप लाग्नु र प्रहरीकै अगाडि घटना हुनुले घटनाले गम्भीर मोड लिएको छ। स्थानीय तहमा तनाव बढेको र पीडित परिवार त्रासमा बस्न बाध्य भएको जनाइएको छ।
प्रहरीले निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ। दलित समुदायका प्रतिनिधिहरूले भने दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।















