२० असोज, काठमाडौँ । भारतको ओडिशा राज्यमा दुई समुदायबीच भएको झडपपछि स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले इन्टरनेट र सामाजिक सञ्जाल सेवा अस्थायी रूपमा बन्द गरेको छ। तनावग्रस्त क्षेत्रहरूमा ३६ घण्टाका लागि कर्फ्यु लगाइएको बीबीसी हिन्दीले जनाएको छ।
तनावको केन्द्रबिन्दु बनेको कटक क्षेत्रमा विश्व हिन्दू परिषद (VHP) ले आज १२ घण्टे बन्दको आह्वान गरेको छ। दुई दिनअघि दुर्गा पूजा विसर्जनका क्रममा दुई समुदायबीच भएको झडपपछि वातावरण तनावपूर्ण बनेको हो।
प्रदर्शनका क्रममा ढुंगामुढा र हिंसा भएपछि ८ जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो।हिंसात्मक घटनामा २५ जना घाइते भएको जनाइएको छ। स्थानीय प्रशासनले स्थिति थप विग्रन नदिन सुरक्षा व्यवस्था कडा बनाएको छ।
ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति कायम गर्न आग्रह गर्नुभएको छ। उहाँले हिंसामा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।
हाल कटकसहित प्रभावित क्षेत्रहरूमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ। इन्टरनेट बन्दसँगै अफवाह फैलिन नदिन संचारमाध्यमहरूलाई संयमता अपनाउन आग्रह गरिएको छ।

















