२० असोज, हेटौंडा । अविरल वर्षाका कारण अवरुद्ध भएका हेटौंडा–काठमाडौं जोड्ने दुई सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार, सडकमा खसेको पहिरो हटाएपछि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ र हेटौंडा–पालुङ–नौबिसे सडक खण्ड संचालनमा ल्याइएको हो।
तर, भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ भने अझै पनि सञ्चालनमा आउन सकेका छैनन्।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, डोढारे खोलाले सडकको केही भाग बगाएपछि भीमफेदी–कुलेखानी–सिस्नेरी सडक अवरुद्ध भएको हो। त्यस्तै, दक्षिणकाली मन्दिर नजिकै गएको पहिरोका कारण सवारी सञ्चालन सम्भव नभएको बताइएको छ।
सडक मर्मत र पहिरो पन्छ्याउने काम तीव्र गतिमा भइरहेको जनाइएको छ। यसैगरी, कान्तिलोकपथ अन्तर्गत बगुवा खोलासम्मको क्षेत्रमा खसेको पहिरोले सडकको केही भाग बगाएको र अन्य ठाउँहरूमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ। ती स्थानहरूमा पनि सडक मर्मत तथा अवरोध हटाउने काम जारी छ।
सञ्चालनमा आइसकेका सडकमार्गमा यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ, भने बन्द रहेका मार्गहरू निकट भविष्यमा खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ।















