Logo

२० असोज, काठमाडौं ।  निरन्तर वर्षापछि आएको भीषण पहिरोले दार्जिलिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। प्रहरी चौकीहरूको विवरणअनुसार हालसम्म कम्तिमा १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने दार्जिलिङ प्रशासनले इलामतर्फको मानेभञ्ज्याङमा मृत्यु भएका पाँच जनालाई समेत गणना गरी मृतकको संख्या २३ पुगेको जनाएको छ।

भारतीय जनता पार्टीबाट दार्जिलिङ क्षेत्रबाट निर्वाचित लोकसभा सदस्य राजु विष्टले पनि मृतकमा १८ जना भारतीय र ५ जना नेपाली रहेको जानकारी दिएका छन्। मृतक सबै नेपालीभाषी रहेका बताइएको छ।

मृत्यु हुनेहरूमा दार्जिलिङ सदर प्रहरी चौकी अन्तर्गत सूम क्षेत्रकी ३५ वर्षीया रिझा राई, जोरबुङ्लो प्रहरी चौकी क्षेत्रका २१ वर्षीय वाङछुक तामाङ, ३५ वर्षीया लैला राई, ६५ वर्षीया सीमा शिवा र पुरुस्ता सुब्बा लगायतका छन्। सुकियापोखरी प्रहरी चौकी क्षेत्रका मानबहादुर प्रधान र विमला प्रधान पनि पहिरोमा मृत्यु भएका छन्।

मिरिक प्रहरी चौकी क्षेत्र सबैभन्दा प्रभावित रह्यो जहाँ ११ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये ९ वर्षीया आहान क्षेत्री, १२ वर्षीया रुही भूटिया, ५० वर्षीय पुछुङ डुक्पा, ४६ वर्षीया सुम्नित लेप्चा, १९ वर्षीया स्नेहा प्रधान, ४२ वर्षीय अनुज प्रधान, ४१ वर्षीया अनिता प्रधान, १२ वर्षीया आरुशी क्षेत्री, ७० वर्षीय बिजेन्द्र राई, ७२ वर्षीया उषा राई र ३५ वर्षीया साधना तामाङ लामाको नाम रहेका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज साँझ घटनास्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। उनलाई स्वागत गर्न स्थानीय प्रशासनले सिलिगुडीदेखि मिरिकसम्मको बाटोमा एकतर्फी सडक व्यवस्था लागू गरेको छ।

यसैबीच, भारतका प्रधानमन्त्री, राष्ट्रपति र गृहमन्त्रीले मृतकहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन्। सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ भने प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास जारी रहेको छ।

भीषण वर्षापछि आएको पहिरोले स्थानीय जनजीवन र अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ। प्रशासन र उद्धार टोलीहरू विपद् व्यवस्थापनमा जुटेका छन् भने थप सतर्कता अपनाउन स्थानीयलाई सचेत गराइएको छ।


सम्बन्धित समाचार