२० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताको लागि सक्रिय पहल भइरहेको जानकारी दिएका छन्। सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र वामपन्थी ध्रुवीकरणबारे ब्रिफिङ दिएका हुन्।
तर, उनले हालसम्म यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मात्रै पार्टी एकताका लागि तयारी अवस्थामा रहेको बताए। यस्तै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा पनि छलफल भइरहेको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
बैठकमा प्रचण्डले भने, ‘पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको छ, तर अहिलेसम्म फाइनल निर्णय भएको छैन। विप्लवजीको पार्टी, माधवजीको पार्टी र महिन्द्र रायजीको पार्टी एकता गर्ने र अशोक राईजी लगायत दलहरूसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल जारी छ।’
असोज ९ र १० गते बसेको माओवादी केन्द्रीय समितिको बैठकले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। यसैबीच, नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
पार्टीले असोज २५ गते आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ भने नेपाल एकीकृत समाजवादीले पनि असोजको अन्तिम हप्तामा केन्द्रीय समिति बैठक बोलाउने तयारीमा छ। माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनभित्र पुनः बस्नेछ र पार्टी एकता तथा ध्रुवीकरणसम्बन्धी छलफललाई तीव्रता दिने अपेक्षा गरिएको छ।















