Logo

२१ असोज, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट फरार भएका कैदीबन्दीमध्ये करिब पाँच हजार ७०० जना अझै पनि सम्पर्कमा आएका छैनन्।

गत महिनाको आन्दोलनका बीचमा देशभरका २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी, गरी कुल १४ हजार ५५३ जना बन्दी भागेका थिए।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार तीमध्ये ८ हजार ५१० कैदी र ३४१ बालबन्दी, गरी कुल ८ हजार ८५१ जनाले आत्मसमर्पण गर्दै पुनः कारागार फर्किसकेका छन्। बाँकी ५ हजार ७०० जना कैदीबन्दी अझै फरार अवस्थामा रहेका छन् ।

गृह मन्त्रालयले फरार कैदीबन्दीलाई स्वेच्छिक रूपमा कारागार फर्किन असोज २० गतेसम्मको अल्टिमेटम दिएको थियो । उक्त समयसीमा सकिए पनि ठूलो संख्यामा बन्दी नफर्केपछि गृह मन्त्रालयले विशेष खोजी तथा पक्राउ अभियान सुरु गरेको छ।

गृह मन्त्रालयले फरार कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको गरेको छ । कार्यदलमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, र प्रशासनका प्रतिनिधिहरू सम्मिलित छन् ।

सुरक्षा निकायहरूलाई फरार बन्दीको परिचय, ठेगाना र सम्भावित गतिविधि सम्बन्धी सूचनामा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।

हाल देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न अपराधका आरोपमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन्।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार, “फरार कैदीहरूको खोजीमा सरकारले सबै प्रकारका स्रोत र संयन्त्र परिचालन गरेको छ। आत्मसमर्पण गर्नेहरूलाई कानुनी प्रक्रियाअनुसार व्यवहार गरिनेछ।”


सम्बन्धित समाचार
भर्खरै