२१ असोज, काठमाडौं । देशभर छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ताहरू आजित भइरहेका बेला, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणका अधिकारीहरूलाई तत्काल ‘एक्सन’ मा उत्रन निर्देशन दिएका छन् ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको आकस्मिक अनुगमन गरे । उनले देशको सम्पूर्ण विद्युत् उत्पादन, प्रसारण र वितरणको अवस्थाबारे गहिरो जानकारी लिएपछि ‘छिनछिनमा बत्ती जाने गुनासो’ लाई उच्च प्राथमिकतामा राखेर तत्काल सम्बोधन गर्न कडा निर्देशन दिएका हुन् ।
मन्त्रीका मुख्य ५ निर्देशन
मन्त्री घिसिङले विद्युत् प्रणालीलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन प्राधिकरण व्यवस्थापनलाई विभिन्न बुँदामा निर्देशित गरेका छन् । छिनछिनमा बत्ती जाने समस्या अन्त्य गर्न देशभरबाट आएका गुनासोहरूलाई तत्काल सम्बोधन गरी विद्युत् आपूर्तिलाई निर्बाध बनाउन उनले निर्देशन दिएका छन् । बाढीपहिरोले क्षति पुर्याएका जलविद्युत् आयोजना र प्रसारण संरचनाहरूको मर्मत गरी तत्काल सेवा चालू गराउनु पर्ने । विद्युत् आपूर्तिको मेरुदण्ड मानिएका मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माण कार्यमा विशेष ध्यान दिने।आगामी हिउँदयामको बढ्दो विद्युत् मागलाई व्यवस्थापन गर्न अहिलेदेखि नै ठोस योजनाका साथ लाग्नुपर्ने। विद्युत्गृह, प्रसारण लाइन तथा सबस्टेसनहरूलाई पूर्ण क्षमतामा चलाउन आवश्यक प्रविधिक तथा नीतिगत सुधारहरू गर्न मन्त्री घिसिङले निर्देशन दिएका छन् ।
प्राधिकरणको जवाफ
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले मन्त्रीलाई प्रणाली सञ्चालनको अवस्था र समस्याबारे जानकारी गराएका थिए। उनले बाढीपहिरोले क्षति पुर्याएका संरचना मर्मत गर्न र विद्युत् सेवा सुचारु गर्न टोलीहरू तयारी अवस्थामा राखिएको र सोहीबमोजिम काम भइरहेको प्रतिबद्धता व्यक्त गरे। कुलमान घिसिङको यो निर्देशनपछि, अब उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउने आशा बढेको छ।















