२१ असोज, बारा । बाढीबाट प्रभावित बालबालिका र परिवारका लागि अच्युत प्रा.वि., महागढीमाई नगरपालिका वार्ड नं. २ मा राहत सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, जन जागरण युवा क्लब, बाराको सहजीकरण तथा महागढीमाई, करैयामाई र देवताल गाउँपालिकाहरूको सहकार्यमा सञ्चालन गरिएको थियो ।
कार्यक्रम अन्तर्गत तीनवटै पालिकाका बाढी प्रभावित ८७ घरधुरीलाई सोमबार राहत सामग्री वितरण गरिएको छ । प्रत्येक परिवारलाई त्रिपाल, लामखुट्टे झुल सेट, सरसफाई सामग्री सेट, भाडाकुडा सेट, डिग्निटी किट, साथै बेबी प्याक (० देखि २ वर्ष) र (३ देखि ५ वर्ष) प्रदान गरिएको थियो। वितरणसँगै सामग्रीको संख्या, लागत, प्रयोग प्रक्रिया र मापदण्डबारे संस्थाका अध्यक्ष भैयाराम यादवले अभिमुखिकरण समेत प्रदान गरे।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले एकजनालाई राहत वितरण गर्दै कार्यक्रमको शुरुवात गरे । मेयर यादवले भने, “बाढीबाट प्रभावित बालबालिका र परिवारका लागि यी राहत सामग्रीहरू वितरण र सहयोगले धेरै राहत पुग्नेछ। सबैलाई सुरक्षापूर्वक सामग्री प्रयोग गर्न अनुरोध गर्दछु।”
कार्यक्रममा महागढीमाई नगरपालिकाका वार्ड नं. १ का वडाध्यक्ष मनोज कुमार गुप्ता, २ का वडाध्यक्ष विश्वनाथ कुशवाहा, ६ का गेनालाल यादव, सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक चन्द्र साह र देवेन्द्र यादव, सुरक्षा टोली, जन जागरण युवा क्लबका कृष्ण प्रसाद यादव, कौशल किशोर साह, नरेश साह र अन्य कर्मचारीहरू, पूर्व वडाध्यक्ष विरेन्द्र चौरसिया तथा वडा सदस्य मनोज यादवको समेत उपस्थिति रहेको थियो ।
साथै, कार्यक्रमलाई व्यवस्थित बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन, सुझाव पेटिका, प्राथमिक उपचार बक्स लगायतको व्यवस्था गरिएको संस्थाका कार्यकारी निर्देशक डा श्रीनिवास बैठाले जानकारी दिएका छन्।

















