२१ असोज, काठमाडौं । भ्रष्टाचार र अनियमितताविरुद्धको ‘जेनजी आन्दोलन’ ले अब सिधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएको छ ।
युवा प्रदर्शनकारीहरूले आज बिहान अख्तियारको मुख्यालय टंगाल अगाडिको सडकमा प्रदर्शन गर्दै प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गरेका छन् । प्रदर्शनलाई मध्यनजर गर्दै अख्तियार परिसर र आसपासमा सुरक्षाकर्मीको तैनाथी बाक्लो बनाइएको थियो ।
नैतिकताको आधारमा ‘राजीनामा’ दिनुपर्छ
प्रदर्शनमा सहभागी युवा अमित खनाल ओझाका अनुसार, अख्तियार जस्तो संवेदनशील संस्थाको नेतृत्वमाथि प्रश्न उठेपछि नैतिकताको आधारमा प्रमुख आयुक्त राईले पदबाट राजीनामा दिनुपर्छ। जेनजी युवाहरूको यो आन्दोलन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएका ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति खारेज हुनुपर्छ भन्ने मुख्य मागमा केन्द्रित छ ।
अख्तियार प्रमुख राईको नियुक्ति पनि सोही समयमा भएकोले युवाहरूले उनलाई लक्षित गर्दै आन्दोलन चर्काएका हुन् । युवाहरूको यो प्रदर्शनले अख्तियारको नेतृत्व र संवैधानिक निकायहरूको नियुक्तिको वैधानिकतामाथि फेरि एकपटक ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।















