२१ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ को आईसीसी टी-२० विश्वकपमा छनोट हुने मिशन लिएर ओमान पुगेको छ ।
वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी–२०आई सिरिज जितेर उच्च मनोबलमा रहेको कप्तान रोहित कुमार पौडेल नेतृत्वको टोली लगातार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाउन आतुर छ । दश वर्षपछि सन् २०२४ को विश्वकपमा छनोट भएको नेपाल यस पटक भने त्यो लामो प्रतीक्षा दोहोर्याउन चाहँदैन। टोलीको आत्मविश्वास अहिले आकाशिएको छ ।
तयारीको उडानः वेस्ट इन्डिजदेखि ओमानसम्म
नेपालको विश्वकप छनोटअघिको तयारी अभूतपूर्व छ । वेस्ट इन्डिज जस्तो टेस्ट राष्ट्रलाई शारजाहमा सिरिजमा हराउनु टोलीका लागि टर्निङ प्वाइन्ट बन्यो । ओमान पुगेर पनि दुई अभ्यास खेल जितेर नेपालले आफ्नो लय कायम राखेको छ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज सिरिजले टोलीलाई उच्च ‘कन्फिडेन्स’ दिएको बताएका छन्। ‘सबैजना राम्रो सेपमा छन् । जुन ब्रान्डको क्रिकेट खेल्यौं, त्यसले कन्फिडेन्स दिएको छ। हामी तेस्रो पटक विश्वकप पुग्नेमा एकदमै कन्फिडेन्ट छौं,’ रोहितले भने।
ओमानमा टी–२० विश्वकप छनोटको संरचना यसपटक फरक छ। एसिया र इस्ट एसिया पेसिफिक क्षेत्रका ९ उत्कृष्ट टोलीहरूले प्रतिस्पर्धा गर्दैछन्, जसबाट शीर्ष तीन टोली मात्र विश्वकपमा पुग्नेछन् । समूह बी नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। सुपर सिक्समा प्रवेश गर्न कम्तीमा एक जित आवश्यक छ । समूह चरण पार गरेपछि नेपालले अन्य समूहका बलिया टोलीहरू जस्तै ओमान, युएई, मलेसिया, पपुवा न्युगिनी जस्ता टोलीहरूसँग भिड्नुपर्नेछ । रोहितले यो संरचनाको गम्भीरता बुझेका छन् । उनले भनेका छन्, ‘यसपटक कुनै पनि टिमलाई हल्का लिन मिल्दैन। हरेक खेल एकदमै महत्त्वपूर्ण छ।’
आईपीएल र टेस्ट राष्ट्रसँग द्विपक्षीय सिरिज
सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा हुने भएकाले नेपालका लागि छनोट हुनुको महत्त्व झनै बढेको छ । उत्कृष्ट प्रदर्शनले नेपाली खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) का फ्रेन्चाइज टिमहरूलाई आकर्षित गर्ने ठूलो अवसर मिल्नेछ । लगातार विश्वकपमा छनोट हुन सके भारत लगायत अन्य टेस्ट राष्ट्रहरूसँग द्विपक्षीय सिरिज खेल्ने बाटो खुल्नेछ। नेपाली टोली अब यो ऐतिहासिक सफलताको नजिक छ। बुधबार कुवेतसँग खेल्दै नेपालले आफ्नो छनोट यात्रा सुरु गर्दैछ।















