Logo

२१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध जेनजी समूहको आन्दोलनले नयाँ मोड लिएको छ।

विभिन्न युवा समूहहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले आज टंगालस्थित अख्तियार मुख्यालय पुगेर प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै औपचारिक पत्र बुझाएको छ । हिजो इमेलमार्फत राजीनामाको आग्रह गरेको अलायन्सले आज भौतिक उपस्थितिमै पत्र दर्ता गरेर आफ्नो दबाबलाई थप बलियो बनाएको हो ।

निष्पक्षतामाथि ‘कठघरा’

अलायन्सका नेता रिजन राना (आदित्य) ले भौतिक रूपमा पत्र दर्ता गरेको पुष्टि गर्दै राजीनामा नआए थप सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएका छन् । युवा समूहले अख्तियारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्तिमा निष्पक्ष र लोकतान्त्रिक प्रक्रिया नअपनाइएको आरोप लगाएको छ ।

मुख्य आरोपहरू

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइबिना नियुक्ति गर्दा आयोगको स्वतन्त्रता र निष्पक्षता माथि प्रश्न उठेको छ। प्रमुख आयुक्त राईमाथि हालसालै विशेष अदालतको निर्णय मा समेत ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ को टिप्पणी आएको छ । नेपाल आयल निगमको जग्गा खरिद, नक्कली भुटानी शरणार्थी र वाइडबडी विमान खरिद जस्ता ठूला भ्रष्टाचार प्रकरणहरूमा प्रमुख आयुक्तको नाम जोडिएको छ ।

अलायन्सले अहिले संसद् नभएकाले महाअभियोग सम्भव नभएको भन्दै, राजीनामामार्फत नै अख्तियारको गरिमा पुनःस्थापना गर्नुपर्ने माग राखेको छ । १२ वटा जेनजी समूह आवद्ध यस अलायन्सले ३९ जिल्लाबाट प्रतिनिधित्व गर्ने दाबी गरेको छ ।

 


सम्बन्धित समाचार
भर्खरै