Logo

२१ असोज,वीरगञ्ज । बाराको फेटा गाउँपालिका–१ स्थित एकवनिया र भलुही जोड्ने बगरी नदीको पुल बाढीले भत्किएपछि मंगलबार सो स्थानको स्थलगत निरीक्षण गरिएको छ।

निरीक्षण टोलीको नेतृत्व मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले गरेका थिए। उनीसँगै पूर्व वडाध्यक्ष जयप्रकाश दास, स्थानीय अगुवा मदन साहलगायत नेताहरू सहभागी थिए।

अबिरल वर्षासँगै आएको बाढीले पुलको पिलर र संरचना भत्किएर यातायात पूर्ण रूपमा ठप्प भएको छ। स्थानीयवासीका अनुसार पुल भत्किएपछि एकवनिया, भलुही र आसपासका बस्तीहरूका नागरिक आवतजावतमा निकै समस्यामा परेका छन्। सर्वसाधारण, विद्यार्थी, बिरामी तथा कृषकहरू आवागमन ठप्प हुँदा प्रभावित भएका छन्।

निरीक्षणपछि नेता सोनलले स्थानीय बाढीपीडितहरूको समस्या प्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले स्थानीय जनताको पीडा सम्बोधन गर्न ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरे।

स्थानीयवासीले लामो समयदेखि पुलको दुरवस्थाबारे ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरिँदै आएको गुनासो गरेका छन्। अबको प्राथमिकता स्थायी समाधान हुनु पर्नेमा उनीहरूले जोड दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै