२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनमा भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने चर्को दबाब बढेपछि प्रधानमन्त्री सुशीला कार्कीले उच्च सुरक्षा अधिकारीहरूसँग मध्यरातसम्म छलफल गरेकी छिन् ।
सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको यो लामो छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।
गृहमन्त्री पक्षमा, प्रहरीको सचेतता
जेनजी अगुवाहरूले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले मानेको थिएन। त्यसपछि सुरु भएको छलफलमा गृहमन्त्री अर्याल जाहेरी दर्ता गर्नुपर्ने पक्षमा उभिएका थिए । तर, प्रहरी अधिकारीहरूले भने परिस्थितिको संवेदनशीलतामाथि सचेत गराए। स्रोतका अनुसार, प्रहरीले आज पूर्वप्रधानमन्त्रीविरुद्ध जाहेरी आए पनि भोलि अन्य नेता वा व्यक्तिविरुद्ध पनि त्यस्तै माग आउन सक्ने र त्यसले परिस्थिति थप भड्किन सक्ने जोखिम औंल्याएका थिए ।
प्रहरीको स्पष्ट मागः‘लिखित निर्देशन भए मात्र अघि बढ्छौं’
बालुवाटार छलफलमा प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले यो विषयमा केन्द्रीय सुरक्षा समितिको निर्णयसहित लिखित निर्देशन प्राप्त भए मात्र अघि बढ्न सकिने स्पष्ट पारेका छन् । सुरक्षा अधिकारीहरूले जेनजी आन्दोलनका घटनाबारे सरकारले न्यायिक छानबिन समिति गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिरहेको बेला पक्राउ गर्ने निर्णयले मुठभेडको अवस्था सिर्जना हुन सक्ने धारणा राखेका थिए। साथै, आन्दोलनका क्रममा लुटिएका हतियार सबै फिर्ता नभएकोले सुरक्षा संवेदनशीलता कायम रहेको जानकारी गराइएको थियो।
प्रधानमन्त्रीको अडानः ‘दोषी कारबाहीको दायरामा आउनैपर्छ’
प्रधानमन्त्री कार्कीले भने समग्र विषयमा मसिनो गरी विश्लेषण गर्न अधिकारीहरूलाई निर्देशन दिँदै ूदोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनैपर्छू भन्ने आफ्नो अडान दोहोर्याएकी थिइन् । हाल जेनजी आन्दोलनको छानबिन समितिले सिफारिस गरेपछि ओली र लेखकसहित तत्कालीन गृह सचिव र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई सरकारको अनुमतिबिना उपत्यका बाहिर जान रोक लगाइएको छ। प्रधानमन्त्री कार्की यस विषयमा आज पनि थप परामर्शमा रहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।















