२१ असोज, काठमाडौं । इलाम जिल्लामा आएको विनाशकारी बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ। इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर गाउँपालिका–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला परेसँगै मृतक संख्या ३९ पुगेको हो।
वडा सदस्य कुमार गुरूङका अनुसार प्रवेश गुरूङ असोज १९ गतेदेखि बेपत्ता थिए। खोजी क्रममा सुरुवातमा उनको स्वीटर र हाइनेक मात्र भेटिएको थियो। मंगलबार घटनास्थलबाट करिब ४०० मिटर तल उनको शव फेला परेको गुरूङले जानकारी दिए।
यसैबीच, इलाम नगरपालिका–६ का महेन्द्र लिम्बु अझै बेपत्ता छन्। उनी पहिरोले घरसहित बगाएका थिए। उनको खोजी कार्य जारी रहेको जनाइएको छ।
इलाममा गत केही दिनदेखि परेको लगातारको वर्षाले विभिन्न ठाउँमा बाढी र पहिरो गएको छ। यसले जनधनमा ठूलो क्षति पुर्याएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीयवासीहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्।















