Logo

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर गरिसक्न अपिल गरेका छन्।

एक भिडियो सन्देशमार्फत शर्माले विशेष महाधिवेशन पार्टी सुदृढीकरणको मार्ग भएको बताउँदै हस्ताक्षर प्रक्रियामा ढिलाइ नगर्न आग्रह गरेका हुन्। “हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्,” शर्माले भने।

उनले केही नेताहरूको धारणा– “केन्द्रीय समितिको बैठक (असोज २६) पछि हस्ताक्षर गरे पनि हुन्छ” भन्ने कुरा प्रति टिप्पणी गर्दै भने, “लगनपछिको पोते के काम !” अर्थात् समयमै काम नगरेर पछि गरिएमा त्यसको महत्व रहँदैन भन्ने सन्देश दिएका हुन्।

शर्माको विश्वास छ कि विशेष महाधिवेशनले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया बलियो बनाउनेछ र कांग्रेस अझ सशक्त हुनेछ। उनले महाधिवेशन प्रतिनिधिहरूको सक्रिय सहभागिता नै कांग्रेसको भविष्य निर्धारण गर्ने उल्लेख गरेका छन्।

कांग्रेसको केन्द्रीय समिति बैठक असोज २६ गतेका लागि बोलाइएको छ। विशेष महाधिवेशनको माग तीव्र रूपमा उठिरहेका बेला यो बैठक निर्णायक हुने अनुमान गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै