२१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज सम्पन्न भएको छ। बैठकमा सहभागी विज्ञहरूद्वारा विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूलाई आवश्यक तालिम र उपकरण उपलब्ध गराउन सरकारलाई महत्वपूर्ण सुझाव दिइएको छ।
परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीलाई विपद्सँग जुध्नका लागि उपयुक्त तालिम, औजार तथा सामग्रीले सुसज्जित बनाउनु पर्ने आवश्यकता औंल्याएका छन्।
“विपद्को बेलामा प्रधानमन्त्रीले देखाएको सक्रियता र नेतृत्वका कारण ठूलो दुर्घटनाबाट देश जोगिन सक्यो,” तुलाधरले भने, “त्यसका लागि धन्यवाद दिन चाहन्छु।”
उनले सुरक्षाकर्मीहरूले सीमित स्रोतसाधनका बाबजुद विपद् पीडितहरूको उद्धार तथा राहतमा खेलेको भूमिकालाई उच्च सम्मान गर्दै भने, “नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले जुन समर्पण देखाए, त्यसका लागि उनीहरू स्यालुटका हकदार छन्।”
बैठकमा विपद् व्यवस्थापनको दीर्घकालीन रणनीति, समन्वय मजबुत बनाउने उपाय, तथा जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत सुधारहरूबारे समेत छलफल भएको जनाइएको छ।
सरकारले आगामी दिनमा सुरक्षाकर्मीहरूको क्षमता अभिवृद्धि र पूर्वतयारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।















