Logo

२१ असोज, काठमाडौं । दशैं बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ताहरूका लागि उच्च गिरावटको निराशाजनक सुरुवात भएको छ ।

आज नेप्से परिसूचक एकैदिन ५८ दशमलव ५५ अंक अर्थात् २ दशमलव १९ प्रतिशतले घट्दै २६०४ अंकमा कायम भएको छ । लगानीकर्तामा तीव्र बिक्री चाप देखिएपछि बजारमा कुल ४ अर्ब ६२ करोड बराबरको मात्र कारोबार भएको छ ।

सबै समूहमा रातो बत्ती, १८ अर्बको क्षति

आजको कारोबारमा बजारमा १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घट्यो। यसले बजारमा ‘सेलर’ (बिक्रेता) को दबदबा स्पष्ट देखाउँछ । अन्य समूह सबैभन्दा धेरै ४ दशमलव ८३ प्रतिशतले घट्यो। नेपाल पुनर्बीमा कम्पनीको मूल्यमा आएको भारी गिरावटले यो समूहलाई बढी प्रभावित गर्यो । हाइड्रोपावर २ दशमलव ७४, होटल तथा पर्यटन २ दशमलव ७२, विकास बैंक २ दशमलव ३८, निर्जीवन बीमा २ दशमलव ०४ लगायत सबै समूहका सूचकहरू ठूलो अंकले घटे।

भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो। यस्तै, नेपाल पुनर्बीमा ८ दशमलव ५७ र माथिल्लो मैलुङखोला ७ दशमलव २१ को मूल्यमा पनि ठूलो पहिरो आयो।

निराशामा ‘डिबेन्चर’ को चमक

सेयर बजारमा व्यापक गिरावट आउँदा लगानीकर्ताको आकर्षण भने ऋणपत्रमा सरेको देखियो। ऋणपत्रहरूमा लगानीकर्ताको उच्च माग देखियो, जसमा सेन्चुरी डिबेन्चरको मूल्य १० प्रतिशतले बढ्यो। एनआईसी एसिया ऋणपत्रको मूल्य ९ दशमलव ११ प्रतिशतले बढ्यो । युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स जस्ता कम्पनीहरू आज धेरै कारोबार भएका कम्पनीमा परे ।


सम्बन्धित समाचार